यात्रुसँग बढी भाँडा असुल्ने सवारीसाधन कारबाहीमा
तनहुँ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधनलाई रोकेर कारबाही गरेको हो ।
दमौलीको भोर्लेटार चोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकजाँच गर्दा बढी भाँडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव विष्टले जानकारी दिनुभयो ।
पोखराबाट विभिन्न स्थानका लागि छुटेका सवारीसाधनलाई रोकी कति भाँडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाँडा लिएको बताएपछि तोकिएको भाँडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार रु दुई सयदेखि रु चार हजार दुई सय तीससम्म एउटा गाडीबाट रकम फिर्ता गराइएको उहाँले जानकारी दिनुभयो । यात्रुसँग बढी भाँडा लिने सवारीसाधनलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।
यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम बढी भाँडा लिने सवारीसाधनलाई कारबाही स्वरूप जरिवाना गरिनेछ । उहाँले भन्नुभयो, “अहिले चौबिस घण्टे पुर्जी दिएर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्याउन पठाएको छौँ, कार्यालयमा आएर उनीहरूले जरिवाना बुझाउनुपर्छ ।”
यात्रुसँग बढी भाँडा लिएर गाडी चलाएको व्यापक जनगुनासा आएपछि घटनास्थलमा प्रहरी खटाएर सवारीसाधन चेकजाँच कार्य थालिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । चाडपर्वको समयमा यात्रु नठगिउन् तथा दुःख नपाउन् भनेर जिल्लाको मुख्य बजार क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्