दियोबाट सल्किएर बाराका विभिन्न ठाउँमा आगलागी
बारा । बारामा लक्ष्मी पूजाका दिन बालिएका दियोबाट सल्किएर जिल्लाका ६ ठाउँमा आगलागी भएको छ ।
सोमबार साँझ दियो बत्तीबाट सल्किएर भएको आगलागीबाट घरगोठ, खाद्यान्न, लत्ताकपडा र २ लाख ५० हजार नगदसहित ९ लाख २० हजार रुपैंया भन्दा बढीको क्षति प्रहरीले जनाएको छ । निजगढ नगरपालिका ७ रुम्बाटोल बस्ने भीम रुम्बाको गोठमा लक्ष्मी पूजाको अवसरमा बालेको मैनबत्तीबाट आगलागी भएको हो । आगलागीमा परि रुम्बालका ३ वटा राँगा मरेका छन् ।
त्यस्तै, सोमबार राती आदर्श कोतवाल गाउँपालिका ६ पटेर्वा टोलका नेमिलाल राउत कुर्मीका गोठमा मैनबत्तीबाट आगलागी भएको छ । आगलागीबाट बाख्रा २ वटा, पाठा/पाठी–४ वटा, कुखुरा ५ वटा, हाँस ३ वटा मर्दा कुर्मीको ७० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै राती ९ः४५ बजेको समयमा विश्रामपुर गाउँपालिका १ वटन चौकका सोनालाल चौवेको फुसले छाएको खुद्रा तथा चिया पसलमा दियोको आगो सल्केर आगलागी हुँदा ६० हजार रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सोही दिन राती सवा ८ बजे पचरौता नगरपालिका ३ रामनगरका सुरज पासवानको घरमा दीपावली गर्ने क्रममा आगलागी भएको छ । आगलागीबाट घरभित्र राखिएको नगद २ दुई लाख ५० हजार र १५ हजार रुपैंयाको लताकपडा जलेर पूर्ण रुपमा नष्ट भएको बारा प्रहरीले जनाएको छ ।
त्यसैगरी, गएराती जिल्लाको कलैया उपमहानगरपालिका २६ शिश्वामहेश्पुर बस्ने भोलावन रामको घरमा बालेको दियो सल्केर आगलागी भएको छ । आगलागीबाट रामको फुसको एक तल्ले घर, लताकपडा, भाँडाकुँडा, मोटरसाइकल र २ आना सुन समेत जल्दा ५० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कलैया उपमहानगरपालिका २० बसतपुरका लक्ष्मण साहको किराना पसलमा विद्युत् सर्ट भई आगलागी भयो । आगलागीमा परि फ्रिज १, चामल र अन्य सामान गरी ६५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्