यात्रुसँग दोब्बर भाडा असुल्ने सवारी साधन कारबाहीमा
गोरखा । गोरखामा चाडबाडको मौका छोपी चर्को भाडा यात्रुहरूसँग चर्को भाडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
तिहारका बेला यात्रुसँग तोकिएको भन्दा झण्डै दोब्बर भाडा असुल गर्ने माइक्रो बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत कारबाही गरी जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
गोरखा–काठमाडौँ रुटमा चल्ने बा ५ ख १०७४ नम्बरको माइक्रोले एउटै यात्रुसँग तोकिएको भन्दा ४ सय २० रुपैयाँ बढी भाडा लिएको यात्रुहरूको गुनासोपछि छानविन गर्दा चर्को भाडा लिएको पुष्टि भएकाले कारबाही गरिएको उहाँले बताउनुभयो । दरौदी यातायात कम्पनी मार्फत सञ्चालित उक्त माइक्रोले बढी भाडा लिएको यात्रुहरूले प्रहरीलाई जानकारी गराएका थिए ।
गोरखा–काठमाण्डौं रुटको लागि यातायात व्यवस्था विभाग तोकेको ५ सय ८० रुपैयाँ लिनुपर्नेमा काठमाण्डौं यात्रु लिएर आउँदा मङ्गलवार उक्त माइक्रो बसले सबै यात्रुसँग एक हजार रुपैयाँका दरले भाडा असुल गरेको जानकारी आएपछि ट्राफिक प्रहरीले माइक्रोलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएर उक्त माइक्रो बसलाई सबै यात्रुसँग लिएको बढी भाडा फिर्ता गराएर ५ हजार रुपैयाँ जरिवाना गरिएको डिएसपी लामिछानेले जानकारी दिनुभयो । माइक्रोलाई नियन्त्रणमा लिएर अनुसन्धानमा गल्ती स्वीकार गरेकाले पहिलो पटक सचेत गराएर सामान्य जरिवानामा छाडिएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्