सडकमै चालक र सवारी साधनको परिक्षण
बारा । दुर्घटना न्युनिकरण गर्न बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सडकमै चालक र सवारी साधनको परिक्षण गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न कार्यालयले अमलेखगन्जमा दुई दिने परिक्षण शिविर राखेको हो । शिविरमा चालकको स्वास्थ्य र सवारी साधनको यान्त्रिक परिक्षण गरिएको थियो ।
शिविरमा साना तथा ठुला गरी पाँच सय ८० सवारी साधनको परिक्षण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार शिविरमा चालकको आँखा, रक्तचाप तथा सवारी साधनको यान्त्रिक परिक्षण गरिएको थियो ।
जाँचका क्रममा ३४ जना चालकमा उच्च रक्तचाप देखिएको, तीन जनामा उच्च रक्तचापसँगै मधुमेह देखिएको र केही सवारी साधनमा खराबी देखिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिनुभयो ।
मधुमेहसहित उक्त रक्तचाप देखिएको सवारी साधनलाई अर्को चालक व्यवस्थापन गरी पठाइएको र यान्त्रिक खराबी देखिएका सवारी साधनलाई मर्मतका लागि पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्