मध्यपुर थिमि नगरपालिका लिगको उपाधि ९ नं. वडालाई
भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं. ९ ले जितेको छ ।
सानो ठिमी खेलमैदानमा सम्पन्न लिगको अन्तिम खेलमा वडा नं. १ वडा नं. २ सँग पराजित भएपछि वडा नं. ९ ले उपाधि जितेको हो ।
यसअघि लिगको ३५ औँ खेलमा वडा नं. ९ वडा नं. ८ लाई १–० ले पराजित गरी लिगको शीर्ष स्थानमा उक्लेको थियो ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर यूथ एशोसियसनको संयोजनमा सम्पन्न अन्तिम खेलमा लिग उपाधिका लागि वडा नं. १ लाई जित्नै पर्ने अवस्था थियो भने वडा नं. २ ले जिते लिगको तेस्रो स्थानमा उक्लने अवसर थियो । निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ९१ औँ मिनेटमा वडा नं. २ गोल गर्दै वडा नं. १ लाई पराजित गरी लिगको तेस्रो स्थानमा उक्लन सफल भयो ।

उपाधिसँगै वडा नं. ९ ले नगद २ लाख ५० हजार रुपैंया पुरस्कार पाए । दोस्रो भएको वडा नं. १ ले एक लाख ५० हजार र तेस्रो स्थानको वडा नं. २ ले ६० हजार नगर पुरस्कार पाए ।
लिगको सर्वोत्कृष्ट खेलाडी वडा नं. ९ का यमन राजबहाक घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । लिगको उत्कृष्ट रक्षक वडा नं. १ का प्रसिव खड्का, उत्कृष्ट मिडफिल्डर वडा नं. १ का राहुद खड्का, उत्कृष्ट फरवार्ड वडा नं. ५ का सुसन श्रेष्ठ र उत्कृष्ट गोलकिपर वडा नं. ८ का पुजन होना घोषित भए । उत्कृष्ट सबैले जनही १०÷१० हजार नगद पुरस्कार पाए ।
लिग विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरूलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मध्यपुर यूथ एसोसिएसनमा उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक अष्ट कवे, मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन सुन्दर श्रेष्ठ, पूर्व उपप्रमुख अञ्जनादेवी मधिकर्मी, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा लगायतले वितरण गर्नुभएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले फुटबलसँगै मध्यपुर थिमिका खेलाडीको प्रतिभा अनुसार अन्य खेलको विकासका लागि पनि प्रतियोगिताहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मध्यपुर यूथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिता सफल हुनुमा हजारौँको सङ्ख्यामा उपस्थित दर्शकहरूले समेत स्वयम् सेवकको भूमिका निर्वाह गरी प्रतियोगिता सफल बनाएको बताउनुभयो ।
सो अवसरमा सबै प्रकारको फुटबल खेलबाट संन्यास घोषणा गरेका मध्यपुर थिमिमा पूर्व राष्ट्रिय खेलाडी रमेश सिन्केमनलाई व्लेजर लगाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्