तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा महाकवि देवकोटाको सालिक अनावरण

झापा । झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नवनिर्मित सालिक अनावरण गरिएको छ ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न संघ–संस्था र दाताहरूको सहयोगमा निर्माण गरेको महाकवि देवकोटाको अर्द्ध कदको सालिक आज एक समारोहबिच अनावरण गरिएको हो ।
वनकै स्वामित्वमा रहेको मुना सामुदायिक भवन परिसरमा निर्माण गरिएको सालिकको समारोहका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् साहित्यकार गङ्गाप्रसाद उप्रेतीले अनावरण गर्नुभयो ।
महाकवि देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर आज सालिक अनावरण गरिएको हो ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित समारोहमा प्रदेश नं १ का सहकारी मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्राज्ञ सदस्य सुभद्रा भट्टराई, साहित्यकार चूडामणि रेग्मी लगायतले महाकवि देवकोटाले साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।
साहित्यकार लता खरेलले सञ्चालन गरेको समारोहमा वन समूहका उपाध्यक्ष एवम् सालिक निर्माण समितिका संयोजक गोकुल ढकालले स्वागत गर्नुभएको थियो ।
सालिकसहित पार्क निर्माण र व्यवस्थापनमा हालसम्म २४ लाख ७३ हजार ७४६ रुपैयाँ खर्च भइसकेको र त्यसका लागि भद्रपुर नगरपालिकाले १३ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराएको वन समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button