तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्मी पूजामा वीरगंज झकिझकाउ

वीरगंज । मुलुकको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र वीरगंज लक्ष्मी पूजाका लागि झकिझकाउ भएको छ ।
लक्ष्मी पूजाको लागि वीरगंजमा आज एकै दिन करिब ४० लाखभन्दा बढीको केराको थाम तथा फुलहरूको कारोबार भएको व्यापारीहरूले बताएका छन् ।
तराई मधेसमा लक्ष्मीपूजा गर्दा हरेक घर वा पसलको मूल ढोकामा पातसहितको केराको थाम राखेर लक्ष्मीको स्वागत गर्ने प्रचलन रहेको छ ।
बारा र रौतहटबाट वीरगन्जको बजारमा ३५ भन्दा बढी ट्याक्टरमा ल्याइएको केराका बोट खरिद बिक्री भएको छ । रौतहटको बंकुल, टिकुलीया, बैरिया, बागमती, बाराको बरियापुर र सिम्रौनगढबाट किसान र व्यापारीले केराको बोट बिक्रीका लागि ट्याक्टरमा वीरगंजमा ल्याएका थिए ।
केराको बोट जोडाको २ सय रुपैयाँमा व्यापारीहरूले बिक्री गरेका छन् । त्यसैगरी, सयपत्री, कमल, लगायतका फुलहरूको कारोबार पनि लाखौँको भएको व्यवसायीहरूले दाबी गरेका छन् । यसैबिच बीरगंज बजारमा सामान किनमेल गर्न उपभोक्ताहरूको बजारमा घुइँचो लागेको छ ।
त्यसैगरी वीरगंजमा लक्ष्मीपूजामा सजावटका लागि लाखौँ मूल्यको सयपत्री, मखमली, सुपारे र कमलको फुल मकवानपुर, भक्तपुर र भारतबाट ल्याइएको थियो ।
मधेश प्रदेशको बारा, पर्सा, रौतहटलगायत देश भरीको बजारमा सामान किनमेल गर्न बिहानैदेखि उपभोक्ताहरूको घुइँचो लागेको हो ।  पर्साको वीरगन्जस्थित बिर्ता, आर्दशनगर, मिना बजार, माईस्थान, नगवा, पोखरिया, विन्दवासिनी, बाराको कलैया, प्रसौनी, बरियारपुर, सिम्रौनगढ लगायत सहरी र ग्रामीण भेगका बजारहरूमा बिहानै देखि उपभोक्ताहरूको घुंईचो लागेको छ ।
उपभोक्ताहरूले मिठाई, फलफूल, खानेतेल, माटोको दियो, झालर बत्ती, पानको पात, सयपत्री फुल, मखमली फुल, आलु, प्याज, काउली कोभी, परोल लगायतका सामानहरू किनमेल गर्न उपभोक्ताहरूको घुँईचो लागेको छ ।
लक्ष्मी माताको बासको लागि स्थानीयहरूले बिहानैदेखि आ–आफ्नो घर सरसफाइ व्यस्त भएका थिए भने अपराह्न पछि लक्ष्मीको पूजा आराधनामा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button