तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेको छ : गृहमन्त्री खाण

काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाणले सरकारले मुलुकको सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयको आयोजनामा  आयोजना गरिएको बागमती प्रदेशस्तरीय ‘सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै उहाँले सीमित स्रोत र साधनबीच सरकारले मुलुकको शान्तिसुरक्षालाई सुढृढ बनाएको बताउनुभयो ।

“सरकारले सदैव सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ, आगामी दिनमा झन् व्यवस्थित बनाउँदै लैजान्छौँ”, उहाँले भन्नुभयो । गृहमन्त्री खाणले सुरक्षा निकायले दैनिक कार्यमात्र सम्पादन नगरेर बेलाबेलामा मुलुकमा परेको विपत्तिमा खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन एकै दिनमा सम्पन्न गरेजस्तो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पनि एकै दिन सम्पन्न गर्ने गरी सरकार लागेको बताउँदै निर्वाचनको समयमा हुनसक्ने सुरक्षा चुनौतीप्रति सहज रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । सुरक्षा गोष्ठीले एकै दिन निर्वाचन सम्पन्न गर्न वातावरण तयार गरेको उहाँको भनाइ थियो ।

गृहमन्त्री खाणले प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण नहुँदा जनतामा धेरै समस्या उत्पन्न भएको बताउनुभयो । “नागरिकता विधेयक प्रमाणीकरण नहुँदा कतिपय नागरिकले बैंकमा खाता खोल्न पाएका छैनन्, कसैले उच्च शिक्षा हासिल गर्न पाएका छैनन्, कसैले रोजगारीका लागि दरखास्त दिन पाएका छैनन्”, उहाँले भन्नुभयो । कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नागरिकता विधेयक नल्याएको उहाँको भनाइ थियो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सीमित स्रोतसाधनलाई भरपुर प्रयोग गरेर निर्वाचन सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकार निर्वाचन शान्तिसुरक्षालाई मजबुद बनाउन लागिपरेको उहाँको भनाइ थियो ।

गृह मन्त्रालय सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जिल्लास्तरीय सुरक्षा योजना निर्माण भइसकेको बताउनुभयो । उहाँले कम खर्चमा बढी उपलब्धि हासिल हुने गरी कार्यसम्पादन गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, बागमती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले मुलुकको वर्तमान सुरक्षा अवस्थाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button