तपाईँ सुन्दै हुनुहुन्छः

लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । नाबालिकामाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति काठमाडौँ जिल्ला अदालतले दिएको छ ।
प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गर्नेछ । त्यसपछि थुनछेकको बहस सुरु हुनेछ । असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि पहिलो पटक असोज २४ गते सन्दीपलाई अदालतमा पेश गरिएको थियो ।
२० गतेबाटै गणना हुने गरी पहिलो पटक सात दिनको म्याद थप गरिएको थियो । दोस्रो पटक असोज २७ गते पाँच दिनको र गत बुधवार चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । उनी विरुद्ध प्रहरी वृत्त गौशालामा भदौ २१ गते जाहेरी परेको थियो ।
त्यसको केही दिनमा काठमाडौँ जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।
आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । राष्ट्रिय क्रिकेट टोलीका साथ सन्दीप भदौ ६ गते केन्या गएका थिए । उनी त्यहीँबाट व्यावसायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।
केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलात्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् ।
सन्दीपले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button