तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगले खतिवडा र बानियाँलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत सहयोग रकम उपलब्ध गराएको विषयमा मकवानपुर क्षेत्र नं.२ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं.२(ख) का नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ ।
उम्मेदवार खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही रु १५ हजार उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।
आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा “कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” स्मरण गराइएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख गरिएको छ ।
“तसर्थ, तपाईँबाट आफ्नो क्षेत्रका मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाईँबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनुपर्ने हो ?” आयोगको स्पष्टीकरणमा भनिएको छ, “कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफै उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button