तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालको शव वाहन प्रयोग गर्दा अब शुल्क नलाग्ने

टीकापुर कैलाली । टीकापुर अस्पतालमा रहेको शव वाहन प्रयोग गर्दा अब मृतकका परिवारले शुल्क तिर्नु नपर्ने भएको छ । 

टीकापुरमा मुख्य कार्यालय रहेको तुल्सी ट्रेड लिङ्क प्रालिले वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि अब उपभोक्ताले शव वाहन सेवा निःशुल्क उपयोग गर्न पाउने भएका हुन् । 

डेढ वर्षअघि ह्यूमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शव वाहन खरिद भएको थियो । 

किन्दा पनि सहयोग गरेको र निःशुल्क होस भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको शव वाहन प्रयोग गर्दा पैसा लाग्न थालेपछि एक वर्षको लागि सहयोग गरेको तुल्सी ट्रेड लिङ्कका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष परशुराम चपाईले बताउनुभयो ।

कोरोना उत्कर्षमा भएका बेला टीकापुर अस्पताललाई हस्तान्तरण भएको शव वाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि शुल्क लगाएको तर अस्पतालको आह्वानमा चपाईले एक वर्षका लागि सञ्चालन खर्च दिनुभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिनुभयो ।

गत वर्षको लागतका आधारमा अनुमान गरिएको वार्षिक तीन लाख रकम चपाईको कम्पनीले व्यहोर्ने र यसको दुरुपयोग हुन नदिने अध्यक्ष सोडारीको भनाई छ । 

अब टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाभित्र लैजाँदा शव वाहनको शुल्क नलाग्ने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button