वस्तु निर्यात ३४.९ प्रतिशतले घट्यो
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ३४.९ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड बराबरको मात्र भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी भएको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले वृद्धि भएको छ ।
दुई महिनामा कुल वस्तु आयात १३.० प्रतिशतले घटेर २७३ अर्ब ६० करोड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले कमी भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।








प्रतिक्रिया राख्नुहोस्