तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा मोडेल अस्पतालमा सिलबन्दी

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौँडाको एक अस्पतालमा  सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौँडा  उपमहानगरपालिका–१ मा रहेको  हेटौँडा  मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो ।

सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेसी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ । साथै अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गर्दै आएकाले शल्यक्रिया नगर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहरमैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ । अधिकृत न्यौपानेको नेतृत्वमा  खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहको थियो । 

अस्पताल सञ्चालकलाई  आवश्यक कागजातसहित १५ दिनभित्र  जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button