कालीकोटका ५१ बस्ती बाढी पहिरोको जोखिममा
कालिकोट । कालिकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढी पहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्ला लगायत बस्ती बाढी पहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिलागुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालिकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिँचाइ कुलो, बाटोसहितको क्षति छ ।
कालिकोटमा बाढी पहिरोका कारण नौ वटै स्थानीय तहमा गरी पाँच सय ९० घर पूर्ण रूपले भत्किएको, सात सय ४२ घर आंशिक रूपले भत्किएको र सात सय १३ घर उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।
बाढी, पहिरामा परेर कालिकोटको छ जनाको मृत्यु भएको एक प्रहरी जवानसहित १७ जना अझैँ बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बाढी पहिराको कारण तिलागुफा नगरपालिकामा १९ जना पहिरोमा परेको त्यसमध्ये पाँच जना शव भेटिएको भए पनि अन्य अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्