सरकारी अस्पताल विपन्नमुखी हुनुपर्छ: राज्यमन्त्री श्रेष्ठ
चितवन । नेपालका सरकारका राज्यमन्त्री एवं चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले सरकारी अस्पताल विपन्नमुखी हुनुपर्ने बताउनुभएको छ ।
बुधबार भरतपुरमा आयोजित स्वास्थ्यकर्मीसँगको अन्तरक्रियामा उहाँले समयसापेक्ष सरकारी अस्पतालको सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा न्यून शुल्कमा उपलब्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले स्वास्थ्य क्षेत्रमा आफ्नो उत्तिकै अनुभव रहेको र स्वास्थ्य राज्यमन्त्री भएर उदाहरणीय काम गरिसकेकाले सरकारी अस्पतालहरूलाई गुणस्तरीय र सुविधा सम्पन्न बनाउने विषयमा आफूले पहल गर्ने बताउनुभयो ।
सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवामुखी हुनुपर्ने भन्दै उहाँले गुणस्तरीय स्वास्थ्य प्रदान गर्नमा उनीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
स्वास्थ्य बिमामा सरकारको करोडौँ रुपैयाँ लगानी भएको भन्दै उहाँले यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीले सरकारबाटै अस्पतालको स्तरोन्नति र व्यवस्थापनको लागि नीति निर्माण गर्नुपर्ने सुझाव दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्