तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिबद्ध : सचिव दुवाडी

काठमाडौँ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवं सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बागमती प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज चितवनमा उद्घाटन गर्नुहुँदै सचिव दुवाडीले आसन्न निर्वाचनका लागि आयोगले गरेको तयारी, आचारसंहिताको कार्यान्वयनलगायत आयोग र सञ्चारमाध्यमको भूमिका र अपेक्षामाथि छलफल हुने बताउनुभयो ।

निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यसका लागि आयोगले विशेष व्यवस्था गरेको बताउनुभयो ।

आचारसंहिता पालना गर्ने र गराउने काममा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सचिव दुवाडीले “सञ्चारमाध्यम र सञ्चारकर्मी पनि आचारसंहिता अनुगमनकर्ता हो” भन्नुभयो । आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखिएमा आयोगमा सूचना दिन सचिव दुवाडीले सञ्चारकर्मीसँग आग्रह समेत गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आयोग मिडियासँग सहकार्य गरेर नै अघि बढिरहेको बताउनुभयो । 

निर्वाचनका बेला सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न आयोगले संयन्त्र निर्माण गरेको बताउँदै उहाँले फेसबुकको मातृ कम्पनी मेटासँगै अन्य टेक कम्पनीसँग सहकार्य भइरहेको बताउनुभयो । 

उहाँले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई संयमित, विश्वसनीय र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्दा आधिकारिक सूचना लिने र त्यसलाई तथ्य जाँच गर्न भुल्न नहुने भन्दै उहाँले आयोगको नीति, विद्यमान कानून र जारी गरिएका निर्देशिका लगायत आयोगको प्रवक्ता, सहायक प्रवक्ता, प्रेस विज्ञप्ति, इ—बुलेटिनलाई निरन्तर पछ्याउन गर्न आग्रह गर्नुभयो ।

मतदानको दिन सूचना तथा प्रसारण विभागबाट जारी गरिएको प्रेस पासका आधारमा रिर्पोटिङका लागि अनुमति दिइने बताउँदै उहाँले प्रेस पास नहुनेहरूका लागि पनि आयोगले सहजीकरण गर्ने बताउनुभयो । 

सचिव दुवाडीले प्रेसलाई सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो । उहाँले  निर्ममताका साथ आचारसंहिता पालना गर्न र कार्यान्वयन गराउन मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापन तीव्र गतिमा भइरहेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्ला स्तर र स्थानीय स्तरका संयन्त्रलाई सक्रिय तुल्याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button