तपाईँ सुन्दै हुनुहुन्छः

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ । बाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताउनुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ८(ख)को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताउनुभयो । विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरुबीच बाम(लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताउनुभयो । संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको उहाँको भनाइ छ । 

जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तर रुपमा अघि बढाउने उहाँले बताउनुभयो । काठमाडौँ-८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफु उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताउनुभएको थियो । विगतमा राष्ट्रिय सभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउनुहुँदै उहाँले गठबन्धनका दलहरुबीच चुनावमा इमानदारता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button