जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड, सेवा लिन तीन

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत अन्य सेवा लिने सेवाग्राहीको भिड बढेको छ । दसैँ यता जिल्ला प्रशासन कार्यालयमा दैनिक जसो सयौँ सेवाग्राहीको भिड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयमा विभिन्न कामले आउने सेवाग्राही अत्यधिक भिडभाडले गर्दा सदरमुकाममै वास बस्न बाध्य भएका छन् ।
शितगंगा नगरपालिकाबाट सेवा लिन आउने कतिपय सेवाग्राही ३ जिल्ला पार गरी सदरमुकाम आउनु पर्ने भएकाले भिडभाडका कारण ३ दिन लगाएर सेवा लिएको शितगंगा सातका भीम दर्लामीले बताउनुभयो ।
रोजगारी, अध्ययन लगायत विभिन्न कारणले घर बाहिर रहेका मानिस दसैँ तिहार जस्ता चाडपर्वको बेला घर फर्कने र सोही समयको सदुपयोग गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्र , राहदानी, संस्था नवीकरण जस्ता अत्यावश्यक कागजात बनाउने भएकोले यस्तो भिड लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताउनुभयो ।
पन्थीका अनुसार प्रशासन कार्यालयबाट नागरिकतातर्फ २ सय राष्ट्रिय परिचयपत्रतर्फ २ सय, राहदानी तर्फ ५० सहित दैनिक ५ सय बढी सेवाग्राहीले सेवा लिई रहेका छन् । अत्यधिक भिड बढेपछि साँझ अबेर सम्म काम गरी सेवा प्रवाह गरिएको प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो । सेवाग्राहीलाई सेवा छिटो दिने उद्देश्यले राष्ट्रिय परिचयपत्रको लागि २ वटा स्टेशनबाट काम भइरहेको र अब पञ्जीकरण विभागले स्थानीय तहमा नै सेवा सुचारु गरी थप सहजता बनाउने उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्