इँटा उद्योग कामदारको राष्ट्रिय सम्मेलन सौराहामा सुरु
भरतपुर । चितवनको सौराहामा इँटा उद्योग कामदारहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको आज उद्घाटन गरिएको छ ।
सम्मेलनको आयोजक संस्था ग्लोबल फेयरनेस इनिसियटिभ काठमाडौँका अनुसार सम्मेलनमा ४० उद्योगमा कार्यरत विभिन्न १८ जिल्लाका एक सय आठ जनाको सहभागिता रहेको छ । ‘कामदारमैत्री उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोजक ग्लोबल फेयरनेस इनिसियटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितले जानकारी दिनुभयो ।
ग्लोबल फेयरनेस इनिसियटिभले सन् २०१४ देखि ‘बेटर ब्रिक नेपाल’ परियोजना सञ्चालन गरेर इँटा उद्योगमा काम गर्ने कामदारहरूको श्रमसँग सम्बन्धित विभिन्न पाँच वटा मुद्दामा काम गर्दै आएको पण्डितले बताउनुभयो । कामदारको श्रमसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्दै इँटा उद्योगको रूपान्तरण, बालश्रम निषेध, श्रमिक बालबालिकाको शिक्षा, बाध्यात्मक श्रम निषेध तथा कामदार र उद्योगीको व्यवहारसहितका मुद्दामा काम गर्दै आइरहेको पण्डितको भनाइ छ ।
इँटा उद्योगको गुणस्तरमा विकास, धुवाँ उत्सर्जनको नियन्त्रणमा टेवा पुर्याउन प्रदूषण मापन तथा मापदण्डभित्र राख्न लगाउने, रोजगारदाता र श्रमिकको सम्बन्ध सुधारमा काम गर्ने सरकारी ऐनको कार्यान्वयन र पालना गराउने लगायतका विषयमा ग्लोबल फेयरनेस इनिसियटिभले काम गर्दै आएको छ ।
नेपालमा हाल एक हजार दुई सय ९६ भन्दा बढी इँटा उद्योगहरू कानूनी रूपमा सञ्चालनमा छन् । परियोजना आगामी जुन २०२३ सम्म सञ्चालन हुने भन्दै पण्डितले अहिलेसम्म संस्थाको तर्फबाट धेरै काम गरिएको बताउनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्