तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका ५६ मतदानस्थल अति संवेदनशील

बझाङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा ५६ वटा मतदानस्थल अति संवेदनशील तोकिएको छ ।

कुल १ सय ३५ मतदानस्थल मध्ये ५६ ओटा मतदानस्थल अति संवेदनशील, ५८ संवेदनशील तथा २१ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गीकरण गरिएको छ ।

file photo

जिल्लामा जम्मा १ सय ८४ मतदान केन्द्र तोकिएको छ । यस्तै जिल्लामा १ लाख २२ हजार ३ सय ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले बताउनुभयो । जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा १ सय ८४ मतदान केन्द्र र १ सय ३३ मतदान स्थल रहेका थिए । आगामी निर्वाचनका लागि जिल्लामा २ वटा मतदानस्थल थप भएका छन् भने ४ वटा मतदानस्थलको स्थान परिवर्तन भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गौतमले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक बसी सुरक्षा योजना बनाएर यसको कार्यान्वयन भइसकेको बताउँदै जनशक्ति व्यवस्थापनका लागि तथ्याङ्क माग गरिएको बताउनुभयो । निर्वाचन आचारसंहिताको पनि अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार जिल्लामा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ११ सय ८८ जना म्यादी प्रहरी छनोट गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button