तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति सुरक्षा कायम  गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

६७ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकको शान्ति सुरक्षा विकास निर्माणको आधार भएकाले आन्तरिक र बाह्य सुरक्षाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताउनुभयो । 

सरकार र जनताबीचमा सबैभन्दा नजिकको साथीको रुपमा प्रहरीले भूमिका निर्वाह गर्दै आएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री देउवाले सबल र सुदृढ शान्ति सुरक्षाबाट नै मुलुकको स्वतन्त्र अस्तित्व र जनताको जीवन रक्षा हुने हुँदा सरकारले सरकारले भयरहित वातावरण निर्माण गर्न विशेष जोड दिएको जानकारी दिनुभयो । 

नेपाल प्रहरीले प्रकृति विपद्का समयमा नागरिकको जीवन रक्षा, उद्धार र राहत वितरणमा देखाएको सक्रियता प्रशंसायोग्य रहेको स्मरण गर्नुहुँदै उहाँले गौरवमय इतिहास बोकेको प्रहरी सङ्गठनलाई आगामी दिनमा थप जिम्मेवार, व्यावसायिक र स्रोतसाधन सम्पन्न बनाउन सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

आपत् विपद्मा परेका नागरिकले सबैभन्दा पहिला नेपाल प्रहरीलाई सम्झने हुँदा समस्त नागरिकको सुरक्षाका लागि प्रहरी सङ्गठनले गर्दै आएको कामको प्रधानमन्त्री देउवाले प्रशंसा गर्नुभयो । 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले आपराधिक गतिविधिहरूमा नयाँ आयाम थपिएको बताउनुभयो ।  

उहाँले अपराधीले नयाँ विज्ञान र प्रविधिको प्रयोग गर्ने गरेकाले प्रहरीमा चुनौती थपिएको बताउनुभयो । 

गृहमन्त्री खाणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न सरकार सकारात्मक रुपमा अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गत वर्षको तुलनामा सङ्गठित अपराधका घटनामा कमी आएको जानकारी गराउनुहुँदै प्रहरी सङ्गठनले लिएको कठोर नीतिका कारण पीडितहरू प्रहरी कार्यालयमा आएर उजुरी गर्न सक्षम भएको बताउनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शान्ति सुरक्षा र अपराधसम्बन्धी आउन सक्ने चुनौती र त्यसले पार्न सक्ने प्रभावप्रति नेपाल प्रहरी सजग र सचेत रहेको बताउनुभयो ।  

यस अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहलाई लाइफ टाइप अचिवमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । 

कार्यक्रममा वीरगति प्राप्त अमर प्रहरीका परिवारलाई सम्मान गरिनुका साथै उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता, पुलिस ब्याटल प्रहरी सम्मान प्रदान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button