तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक परिवर्तनलाई स्थायी बनाउने सङ्कल्प गठबन्धनसँग छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि जनचाहना बमोजिमको आर्थिक विकास जरुरी रहेको बताउनुभयो । 

आर्थिक समृद्धिको अभियानलाई अगाडि बढाउन नसकिए राजनीतिक उपलब्धी दिगो हुन नसक्ने उल्लेख गर्दै उहाँले यस क्षेत्रको जनचाहना पूरा गर्न सक्ने व्यक्तित्वलाई यस क्षेत्रको उम्मेदवार बनाएको स्पष्ट पार्नुभयो ।

उहाँले गठबन्धन दलमा आबद्ध नेता तथा कार्यकर्तालाई कुनै पनि हिनताबोध नराखी एक अर्काको दलको निर्वाचन चिह्नमा मतदान गर्न आग्रह गर्दै केही ऐतिहासिक तथ्य र घटनाक्रमको समेत स्मरण गर्नुभयो । 

उहाँले २०४६ सालको जनआन्दोलन वाम–लोकतान्त्रिक गठबन्धनको बलमा नै भएको र २०६२÷६३ को जनआन्दोलन तत्कालीन सात सात राजनीतिक दल र माओवादीको जोड बलमा नै सम्पन्न भएको बताउनुभयो ।  

अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेर काँग्रेसको निर्वाचन चिह्न रुख र माओवादीको चिह्न हँसिया हथौंडालाई एक अर्काले स्वीकार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक अर्कालाई स्वीकार गरेका छौँ । कुनै पनि दुबिधा नराखी मतदान गर्न म सबैलाई आग्रह गर्दछु ।”

गठबन्धनका तर्फबाट यस क्षेत्रमा पहिलो कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै उहाँले क्षेत्र नं २ का मतदाताप्रतिको सम्मान पनि भएको बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्न आग्रह गर्नुभयो । 

गठबन्धनका तर्फबाट ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने नारा तय गरिएको उहाँले जानकारी दिनुभयो । 

सभामुखका रुपमा देश र जनताको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी ओनसरी घर्तीलाई यस क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारका रुपमा अगाडि सारिएको जानकारी दिनुभयो । 

उहाँले शान्ति सम्झौता, संविधानसभाबाट संविधान, प्रतिगमन विरुद्धको आन्दोलनलगायत राजनीतिक उपलब्धिको स्मरण गर्दै आर्थिक समृद्धि र स्थायित्वका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राज्यका सर्वोच्च पदहरूमध्येको एक सभामुखको जिम्मेवारी सम्हाल्नुभएको ओनसरीलाई साझा उम्मेदवारको रुपमा यस क्षेत्रले पाएको र यो विषय आफैमा गौरवको भएको बताउनुभयो । 

गठबन्धनका दलले यसलाई प्रतिष्ठाको विषय बनाउनुपर्नेमा जोड दिँदै पूर्व प्रधानमन्त्री नेपालले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको, लोकतन्त्र र संविधान जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनले भूमिका खेलेको बताउनुभयो । 

जनअधिकारको रक्षा र मुलुकको विकासका लागि पनि गठबन्धनको विजय जरुरी रहेको उल्लेख गर्दै उहाँले विगतदेखि थाती रहेका कामलाई समेत पूरा गराएरै छाडिने विश्वास व्यक्त गर्नुभयो । भविष्य गठबन्धन दलकै रहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा गर्नुपर्ने धेरै काम सम्पन्न गरेरै छाडिने दृढता व्यक्त गर्नुभयो ।

जनताको भावना र चाहनालाई सम्बोधन गर्न सक्ने उम्मेदवार यस क्षेत्रले पाएको भन्दै उहाँले विकासको नयाँ शृङ्खला अगाडि बढ्ने बताउनुभयो । यस क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सक्ने योजना आफूहरूसँग रहेको भन्दै अध्यक्ष नेपालले कोटेश्वरदेखि साँखुसम्मलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सकिने स्पष्ट पार्नुभयो । 

उहाँले निर्वाचन अभियानलाई सक्रियताका साथ अगाडि बढाउन गठबन्धन दलका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले विगतमा आफूलाई जिम्मेवारी दिइएको यस क्षेत्रलाई आगामी दिनमा नेतृत्व गर्ने जिम्मेवारी उम्मेदवार घर्तीलाई दिन समेत आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button