तपाईँ सुन्दै हुनुहुन्छः

बिपी कोइराला सेवा केन्द्रमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बन्दै

विराटनगर । पूर्वी मोरङको सुनवर्सी नगरपालिका ९ स्थित बिपी कोइराला सेवा केन्द्रद्वारा प्राविधिक शिक्षालय सञ्चालनमा आएपछि गरिब तथा जेहनदार विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ ।

तीन वर्षदेखि सञ्चालनमा आएको प्राविधिक शिक्षालयमा सो क्षेत्रका गरिब, विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षालयको स्थापनासँगै त्यस क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहर जानुपर्ने बाध्यता हटेको छ ।

२०७६ सालदेखि सेवा केन्द्रमा सञ्चालित प्राविधिक शिक्षालयमा ४० जना विद्यार्थीले १८ महिने सव ओभरसियर कक्षा निःशुल्क पढ्न पाएका छन् । त्यहाँ अध्ययनरत दुई व्याजका विद्यार्थीलाई आर्थिक अवस्था कमजोर भएको भन्दै विद्यार्थीबाट कुनै पनि शुल्क नलिएको बिपी कोइराला सेवा केन्द्र सञ्चालक समितिका सचिव भोजराज कटेलले बताउनुभयो ।

विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी प्राय गरिब विपन्न समुदायका हुने गरेकाले विद्यालयले आफ्नै लगानीमा उनीहरूलाई निःशुल्क शिक्षा प्रदान गरेको उहाँको भनाई छ ।

नेपालमा प्रजातन्त्रको पुनर्स्थापना हुनु अघि सो ठाउँमा बिपी कोइराला सेवा केन्द्र स्थापना भएको हो ।

प्राविधिक विद्यालयले यस वर्षदेखि डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका लागी सिटिइभिटीबाट मान्यता पाएको छ । विद्यालयले तीन वर्षे सिभिल इन्जिनियरिङ कोर्स पुरा गर्न १ लाख २० हजार शुल्क निर्धारण गरेको छ । यस वर्षदेखि शुरु हुन लागेको सो कक्षामा ४० जना विद्यार्थीले अध्ययन गर्न पाउने छन् ।

निजी तथा सिटिइभिटीबाट मान्यता पाएका अन्य विद्यालय भन्दा आफ्नो विद्यालयको शुल्क धेरै कम रहेको विद्यालयका प्राचार्य प्रह्लाद राजवंशीको भनाई छ । निजी विद्यालयमा यही कोर्स पढ्दा ३ देखि ४ लाख तथा सिटिइभिटीबाट मान्यता प्राप्त अरू विद्यालयमा पढ्दा दुई लाखसम्म शुल्क लाग्ने गरेको उहाँको भनाई छ ।

गाउँघरमा प्राविधिक शिक्षा सञ्चालनमा आएपछि उच्च शिक्षा हासिल गर्न सहज हुने विद्यालयमा भर्ना हुन आउनुभएका विद्यार्थी अन्जु साहको भनाई छ ।

गाउँघरमै प्राविधिक शिक्षालय सञ्चालनमा आएपछि अभिभावक समेत खुशी छन् । रतुवामाई नगरपालिका–७ का गंगा साहले गाउँमै प्राविधिक शिक्षालय सञ्चालनमा आएपछि छोरीलाई विद्यालय भर्ना गरेको बताउनुभयो । ‘सहरमा छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता थियो अब गाउँघरमै प्राविधिक शिक्षा सञ्चालनमा आएपछि त्यो चिन्ता हटेको छ’ उहाँले भन्नुभयो । विद्यालयमा सुनवर्सी, रतुवामाई तथा रङ्गेली नगरपालिकाका विद्यार्थीहरू भर्ना हुँदै आएका छन् ।

विद्यालय सञ्चालनका लागी सुनवर्सी नगरपालिका तथा रतुवामाई नगरपालिकाले आर्थिक सहयोग गरिरहेको र पर्याप्त सहयोग नभएका कारण चन्दा सङ्कलन गरेर विद्यालय सञ्चालन गरिरहेको समितिको भनाई छ । प्रदेश १ सरकार तथा नगरपालिकाको सहयोगका कारण विद्यालय परिसरमा ठुला ठुला पूर्वाधार निमार्णको काम समेत भइरहेको समितिका सचिव कटेलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button