सगरमाथा आधार शिविरमा फोरजी विस्तार

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्रमा फोरजी विस्तारका लागि थामडाँडामा रिपिटर टावर निर्माण गरिने भएको छ ।
सगरमाथा क्षेत्रको सञ्चार सेवालाई अब्बल बनाई आधार शिविरसम्म फोरजी सेवा पुर्याउन खुम्बु पासाङल्हामु गाउँपालिका १ थामडाँडामा नेपाल टेलिकमले रिपिटर टावर निर्माण गर्न लागेको हो ।
जसका लागि टेलिकमका उपप्रबन्धक दिनेशचन्द्र पन्थीको नेतृत्वमा प्राविधिक टोली स्थलगत सर्वेमा खटिएका छन् । उक्त टोली थाम डाँडा पुगी रिपिटर टावर निर्माण गर्ने स्थान र लिङ्कको विषयमा अध्ययन सुरु गर्ने जनाइएको छ ।
हाल डाँडाखर्कस्थित रिपिटर टावरबाट लिङ्क भइरहेको टेलिकमको सेवा दुरी टाढा हुँदा भरपर्दो नभएकाले थाम डाँडामा टावर निर्माण गरि पत्ताले–टाक्सिन्दु–थाम डाँडामा लिङ्क गरिने उपप्रबन्धक दिनेशचन्द्र पन्थीले बताउनुभयो ।
थाम डाँडामा एक वर्षभित्रमा काम सुरु गरी छ महिनामा सम्पन्न गर्ने गरि १८ मिटर अग्लो टावर निर्माण गर्न लागिएको छ । जुन टावर सगरमाथा आधार शिविर क्षेत्रमा विस्तार गरिने फोरजीको आधार हुने उपप्रबन्धक पन्थीको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्