निर्वाचन आयोगद्वारा तीन वटा निर्वाचन चिन्हमा सामान्य हेरफेर

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन वटा निर्वाचन चिन्हहरूमा सामान्य हेरफेर गरिएको जनाएको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज एक विज्ञप्ति जारी गर्नुहुँदै आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिन्हको अनुसूचीमा हेरफेर गरिएको जानकारी दिनुभयो ।
उहाँले निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको बताउनुभयो ।
सहायक प्रवक्ता भट्टराईले उक्त निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची—३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्ह अन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा समेत हेरफेर गरिएको बताउनुभयो ।
हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेभ साइटमा राखिएको सहायक प्रवक्ता भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्