डेंगु रोग नियन्त्रणमा विराटनगर महानगरपालिकाको सक्रियता

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको छ ।
डेंगुको संक्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू नष्ट गर्ने तथा प्रत्येक वडाहरूमा लामखुट्टे मार्ने औषधि छर्कँदै आएको छ ।
त्यसैगरी महानगरपालिकाले पर्चा पम्पलेट माइकिङ गर्दै सरसफाईमा ध्यान दिन र राती सुत्दा झुलको प्रयोग गर्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले डेंगु नियन्त्रण रोकथामका लागि महानगरपालिकाले औषधि छर्कनेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
सो क्रममा महानगरले आज स्वास्थ्यकर्मीहरूका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक डा.सुरेन्द्र उरावले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मीहरूलाई जानकारी गराउनुभएको थियो ।
उहाँले भदौ यता डेंगुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको बताउनुभयो ।
उहाँले टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने उहाँको भनाइ थियो ।
डा.उरावले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू संक्रमित भएको उल्लेख गर्नुभयो ।
पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।
अलीका अनुसार दोस्रो चरणमा आइतबार नै जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्