सुनसरी: प्रतिनिधिसभाका ४ पदका लागि ९४ जनाको उम्मेदवारी कायम
सुनसरी । मङ्सिर ४ गते हुने निर्वाचन अन्तर्गत सुनसरीमा प्रतिनिधिसभातर्फ ४ पदका लागि ९४ जनाको उम्मेदवारी कायम भएको छ ।
सुनसरीका ४ निर्वाचन क्षेत्रमा ९४ जनाले प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

सुनसरी क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका र सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनले माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ भने नेकपा एमाले र जसपाले जनता समाजवादी पार्टी नेपालका अशोक कुमार राईलाई उम्मेदवार बनाएका छन् ।
यसैगरी सुनसरी क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले भीमप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले नेपाली काँग्रेसका सिताराम मेहतालाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्बर ३ मा एमालेबाट भगवती चौधरी र नेपाली काँग्रेसबाट विजयकुमार गच्छदारको उम्मेदवारी परेको छ । चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।
यसैगरी क्षेत्र नम्बर ४ मा एमालेका जगदीशप्रसाद कुसियैत, नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका विधानन्द यादव लगायतको उम्मेदवारी कायम भएको छ ।








प्रतिक्रिया राख्नुहोस्