बढ्यो चुनावी सरगर्मी, सम्पर्क कार्यालय धमाधम खुल्दै

तनहुँ । तनहुँमा आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।
अहिले देशका मुख्य राजनीतिक दल चुनाव केन्द्रित भइरहँदा उम्मेदवारहरू भने आफ्नो पक्षमा जित निकाल्न मतदाता समक्ष पुगिसकेका छन् । उम्मेदवारी दर्ता गरेसँगै सामाजिक सञ्जाल र विभिन्न कार्यक्रमहरूमार्फत मत सङ्कलनका लागि जुटेका दल र उम्मेदवारहरूले अहिले सम्पर्क कार्यालय धमाधम खुलाएर पार्टी गतिविधि तीव्र बनाएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शङ्कर भण्डारीले शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार र भिमाद नगरपालिकाको भिमाद सम्पर्क कार्यालय स्थापना गरि चुनावी माहोल सिर्जना गरिसक्नुभएको छ । ।
उहाँले भिमादमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै जनताले विवेकपूर्ण निर्णय गरेर गठबन्धनका उम्मेदवारलाई जिताउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
भण्डारीले समग्र तनहुँ क्षेत्र नं २ को विकासका लागि यस पटक तनहुँ क्षेत्र नं २ मा कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको जीत अपरिहार्य रहेको दाबी समेत गर्नुभयो । उहाँले क्षेत्र नं २ मा सडक, खानेपानी, विद्युत्, सिँचाइको प्रमुख माग रहेको हुँदा त्यस विषयमा आफू विशेष ध्यान दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
यो क्षेत्रमा गत २०७४ को प्रदेश निर्वाचनमा निर्वाचित हुनुभएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ भण्डारीको मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।
एमालेको गढको रुपमा परिचित तनहुँ २ ‘ख’मा २०४६ सालपछिका अधिकांश निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । भिमाद एमाले नेता गुरुङको गृह नगर समेत हो ।

यस्तै यता शुक्लाण्डकी नगरपालिका–८ ढोरफिर्दीमा पनि नेकपा एमालेले चुनावका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । तनहुँ २ ‘क’ मा एमालेका तर्फबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहनुभएका श्यामराज महतले कार्यालयको उद्घाटन गर्नुभयो ।
कार्यालयको उद्घाटन गर्दै उम्मेदवार महतले ढोर क्षेत्रबाट पहिलो पटक संसदीय राजनीतिमा जाने मौका मिलेको बताउँदै यस क्षेत्रका जनताले अत्यधिक महतले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जनताको जनजीविका, भ्रष्टाचार विरुद्ध आवाज उठाउने र नीति निर्माणका लागि आफ्नो मुख्य भूमिका रहने प्रष्ट पार्नुभयो । साथै उहाँले यस क्षेत्रको समुन्नत विकासका लागि पाँच वर्षको कार्यकालमा समर्पित रहने उल्लेख गर्नुभयो ।
“मलाई प्रदेशसभामा पठाउनुहोस्”, उहाँले भन्नुभयो, “मतदाताको शिर निहुराउने काम नगरी, इज्जतका साथ आउनेछु ।”
उहाँले गण्डकी प्रदेशसभामा नेकपा एमालेको बहुमत आउने दाबी गर्दै तनहुँले मन्त्री पाउने उल्लेख गर्नुभयो । पहिलो पटक उम्मेदवार भन्नुभएका महतसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनबाट नेकपा माओवादीका केन्द्रिय सदस्य राजेन्द्रकेशरी न्यौपानेले टिकट पाउनुभएको छ । दमौलीका न्यौपानेले गठबन्धनको तर्फबाट गृह नगर शुक्लागण्डकी नगरपालिका रहेका महतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
सत्ता गठबन्धनका तर्फबाट तनहुँ क्षेत्र न १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सोही क्षेत्रबाट पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका गोविन्दराज जोशीले दमौलीमा सम्पर्क कार्यालय स्थापना गरि चुनावी गतिविधि अघि बढाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्