एसइई परीक्षा चैतको दोस्रो सातामा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) चैतको दोस्रो साता सञ्चालन गर्ने भएको छ ।
बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसइई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि सञ्चालन गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता गर्ने उल्लेख गरेको छ ।
बोर्डले पहिलो पटक कार्यतालिका सार्वजनिक गरी तोकेको मिति अनुसार परीक्षाको काम अघि बढाउन निर्देशन दिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो ।
बोर्डले तोकिएको समयमा काम सम्पन्न गर्न सबै तयारी थालेको परीक्षा नियन्त्रक रायमाझीले बताउनुभयो ।
कार्यतालिका अनुसार कार्तिक मसान्तसम्म प्रदेशले आवेदन फाराम छपाई र वितरण गर्ने , मङ्सिर मसान्तसम्म जिल्लाले आवेदन फाराम भराउने र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुस मसान्तसम्म गराउने तालिका सार्वजनिक गरेको छ ।
एसइईको परीक्षा तालिका माघको पहिलो हप्ता प्रकाशन गर्ने, मसान्तसम्म परीक्षा केन्द्र निर्धारण र सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अङ्क र अयोग्य विवरण पठाउने तालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार आउँदो वर्ष साउनको अन्तिममा पूरक परीक्षा सञ्चालन गर्ने उल्लेख छ ।
कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्