तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा नाकाबाट पाँच लाख मूल्यका अवैध लत्ताकपडा बरामद

झापा I भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । 

 इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीकाे टोलीले बुधबार राति मेचीनगर सीमा नाकाको दुई छुट्टाछुट्टै स्थानबाट लत्ताकपडा बरामद गरेको हो । 

प्रहरीले मेचीनगर नगरपालिका– ७ मा बेवारिसे अवस्थामा फेला परेको तीन लाख ५० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । लत्ताकपडाका पोकाहरू तस्कर समूहले भन्सार छलेर भित्र्याएको र व्यापारीको गोदाम वा पसलतर्फ लैजान राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।  

त्यस्तै प्रहरीले मेचीनगर– ६ बाट डेढ लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । ती सामान पनि बेवारिसे अवस्थामा थिए । बरामद गरिएका लत्ताकपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको डिएसपी पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button