गृहमन्त्री खाँणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
भेटमा उहाँहरूबीच नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको छ ।
भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाँणलाई शुभकामना दिनुभएको थियो ।
गृहमन्त्री खाँणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री खाँणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्