दसैँअघि मर्मत गरिएका सल्यानका अधिकांश सडक पुनः अवरुद्ध

सल्यान । दसैँ लगायतका चाडपर्वलाई लक्षित गरी मर्मत सम्भार गरिएका जिल्लाका अधिकांश सडक वर्षाका कारण पुनः अवरुद्ध भएका छन् ।
दसैँअघि जिल्लाका मुख्य तथा सहायक सडकहरू मर्मत गरिएको थियो । मर्मत गरिएका सडक पुनः अवरुद्ध हुँदा पालिकाहरूलाई व्ययभार समेत थपिएको छ ।
सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक पुनः सुचारु गर्नतर्फ जुटेका छन् ।
खलङ्गा कालीमाटी, खलङ्गा जयतपानी सल्लीबजार, थारमारे चौरपानी चौरजहारी, श्रीनगर दहखोला, मोखला दमाचौर लगायतका तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन् ।
मर्मत गरेको केही दिनमा नै आएको वर्षाले पुनः सडक अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले जानकारी दिनुभयो ।
सदरमुकामबाट पालिका जोड्ने मुख्य सडकलाई पुनः डोजरको सहायताका सञ्चालनमा ल्याएको बताउँदै उहाँले पालिकाबाट जोडिने अन्य सहायक सडकलाई मौसममा सुधार आएपछि मर्मत गरिने उहाँको भनाई छ ।
ठाउँ ठाउँमा खसेका पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भएको छ ।
तिहार लगायतका अन्य चाडबाड आइसकेकाले मौसममा सुधार नभए पनि अवरुद्ध खलङ्गा जयतपानी सल्लीबजार सडक मर्मत गरी सञ्चालनमा ल्याएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले बताउनुभयो ।
दसैँ अगावै मर्मत गरिएका अधिकांश सडक लगातारको वर्षाका कारण पुनः अवरुद्ध भएको उहाँको भनाई छ । पालिकाको केन्द्रबाट जोडिएका अधिकांश सडक अहिले अवरुद्ध रहेको उहाँले बताउनुभयो । मौसममा सुधार हुने बित्तिकै मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।
वर्षाले ओटासिल गरिएको राप्ती राजमार्ग पनि जीर्ण बनेको छ । ठाउँ ठाउँमा झरेको पहिरो र बाढीले सडक बगाउँदा दैनिक दुई हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने राजमार्गमा जोखिम मोलेर यात्रु हिँडिरहेका छन् ।
वातावरण प्रभाव मूल्याङ्कन नगरी जथाभाबी खनिएका सडकका कारण थुप्रै बस्तीसमेत जोखिममा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्