तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै स्थानमा चार जना मृत फेला 

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ कुञ्जाकल्ली बस्ने ४९ वर्षीय वीर बहादुर डगौरा सोही ठाउँस्थित बन्दा नदीको किनारामा मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । 

आइतबार दिउँसो स्थानीय पहरीया बजारमा जान्छु भनी हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदी किनारमा उनको शव फेला परेको थियो । 

प्रारम्भिक अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ५० वर्षीय ज्योति बुढाले आफ्नो खेतमा बँदेल रोकथामको लागि छोडेको करेन्ट लागेर उनको मृत्यु भएको र उक्त नदी किनारमा शव फालेको खुल्न आए पश्चात् बुढा लगायत ७ जनालाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ बनखेतस्थित शिव समाज सामुदायिक वनभित्र रहेको बनखेत तालमा कञ्चनपुर घर भएका ४५ वर्षीय शिव नेपाली मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । 

उता बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १ दौलतपुरघाटमा हाल नाम, थर, वतन नखुलेका करिब ४ वर्षीय बालक मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमारा चमेरेघाटस्थित सेती नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाहरूको थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button