अल्ट्रा धाविका बुढा एसियाको ट्रेल रनिङ वरियताको शीर्षस्थानमा
काठमाडौँ । अल्ट्रा धाविका सुनमाया बुढा एसियाको ट्रेल रनिङ वरियताको शीर्षस्थानमा पुगेकी छिन् ।
ट्रेल रनिङ एसोसिएसनले जारी गरेको वरियतामा सुनमाया एसियामा महिलातर्फ वरियताको शीर्षस्थानमा पुग्न सफल भएकी हुन् ।
अन्तर्राष्ट्रिय अल्ट्रामा सुनमाया दि नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धा गर्दै आएकी छिन् । वरियताको दोस्रो स्थानमा चीनकी फुजाओ सियाङ र तेस्रो स्थानमा जापानकी योसिजुमी रहेकी छन् । वरियताको चौथोदेखि छैटौँ स्थानसम्म चिनियाँ खेलाडी नै छन् ।
जुम्लाकी सुनमायाले भदौमा फ्रान्समा भएको अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को एक सय किलोमिटर विधामा दोस्रो भएकी थिइन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।
बुढाले गत वर्ष पुसमा थाइल्याण्डमा भएको एसियाकै ठूलो अल्ट्रा ट्रेल रनिङको उपाधि जितेकी थिइन् । त्यही जितले उनी फ्रान्समा भएको विश्व च्याम्पियनसिपको मान्यता पाएको अल्ट्रा रेस मोन्ट ब्लांकमा छनोट भएकी थिइन् ।
सुनमायाले ओपलम्प्यिन हरि रोकायाले जुम्लाको खलङ्गामा स्थापना र प्रशिक्षण दिने कर्णाली स्पोर्टस्सबाट दौडको औपचारिक प्रशिक्षण सुरु गरेकी थिइन् ।








प्रतिक्रिया राख्नुहोस्