निर्वाचनका लागि मोरङमा साँढे सात हजार सुरक्षाकर्मी परिचालन हुने
विराटनगर । आगामी मङ्सिर–४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा साँढे सात हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

मोरङ जिल्लामा एक महानगरपालिका सहित १७ वटा स्थानीय तह रहेका छन् । आगामी निर्वाचनका लागि मोरङमा ३ सय ६ मतदान स्थल र ८ सय ३९ मतदान केन्द्र तोकिएका छन् । स्थानीय तहको निर्वाचनमा मोरङमा ३ सय मतदान स्थल रहेका थियो ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी तथा म्यादी प्रहरी सहित साँढे सात हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने गरी व्यवस्था मिलाइने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।
सुरक्षाको दृष्टिकोणले जिल्लाका ५० वटा मतदान स्थललाई अति संवेदनशील, १ सय ४४ वटा संवेदनशील तथा १ सय १२ वटा मतदान स्थललाई सामान्य मतदान केन्द्र तोकिएको छ । मतदान स्थल तथा जिल्लाको भौगोलिक अवस्थाको आधारमा सुरक्षा व्यवस्था मिलाइने जनाइएको छ
मतदान स्थल तथा मतदान केन्द्रलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीसहित चार वटा घेरामा राखिने गरी व्यवस्था मिलाइने छ ।
निर्वाचनको समयमा मोरङ जिल्लाका पहाडी भेग लगायत जुनसुकै गाउँ बस्तीमा केही घटना घटे आधा घण्टाभित्र थप सुरक्षाकर्मी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्