दोब्बर भाडा असुल्ने सवारीलाई कारवाही

अर्घाखाँची । दसैंका बेला तोकिएभन्दा दोब्बर भाडा उठाउने व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले भाडा फिर्ता गराएको छ ।
मेलापर्वमा यात्रुको चापको फाईदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछि ईलाका प्रहरी कार्यालय र अस्थायी ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । बढी भाडा तिरेका ३५ जना यात्रुको भाडा फिर्ता गराईएको, मौकाको फाईदा उठाउने तथा भाडादरको लिस्ट नटाँस्ने ६ वटा गाडीलाई जरिवाना तिराएर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरीबहादुर केसीले जानकारी दिनुभयो ।
सवारीसाधनको भाडादर निर्धारण गरेको भएपनि काठमाण्डौ–अर्घाखाँची, बुटवल–अर्घाखाँची सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेपछि सवारी चेकजाँज गर्दा तोकिएको भन्दा बढी भाडा असुलेको पाइएको हो । ‘गोरुसिंगेबाट सन्धिखर्क जाने गाडीले ठाडा गएको समेत सन्धिखर्क सरहको भाडा उठाएका छन् । शितगंगा–३, ठाडाका सुधन पौडेलले भने,‘२२० रुपैया भाडा लिनुपर्नेमा ५०० रुपैया उठाईएको छ ।’ चाडबाडका बेला सर्वसाधारण यसैगरी मर्कामा पर्ने गरेको उनले गुनासो गरे ।
तोकिएको भाडादरमा जान नसकिने भन्दै बस, हाईस तथा जिप चालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ । यात्रा गर्नुअघि नै जिप चालकले दोब्बर भाडा दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले भाडादर कार्यान्वयन भए÷नभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने बताउनुभयो ।
मनपरी भाडा उठाएको, लगेज तथा सामानको मनपरी अतिरिक्त शुल्क तोकेको तथा यात्रुलाई अभद्र व्यवहार गर्ने गरेको यात्रुले गुनासो गरेका छन् । विशेषगरी मेलापर्वका बेला यात्रुको अत्याधिक चाप हुने भएकाले मनपरी गर्ने गरेको पाईएको हो ।









प्रतिक्रिया राख्नुहोस्