भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव
भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन्, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि, कुन पसलमा पाइन्छ ?’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ ।
चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको माग समेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “भोजपुरमा बनेका खुकुरीहरू स्थानीय बजारमा मात्र होइन, भोजपुर बाहिरका जिल्ला साथै विदेशमा समेत माग छ, तर खुकुरी बनाउने कालिगड भने जिल्लामा कमै मात्र छन् । मैले पनि केही कालिगडलाई मात्र काम दिएको छु ।”
सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गरेका अर्का व्यवसायी गणेश विक भन्नुहुन्छ, “हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात जिल्ला मानिन्छ, तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।” खुकुरी उद्योगबाट थोरै कालिगडले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोडा लगायतका खुकुरी उत्पादन हुने गरेको छ ।
उद्योगबाट उत्पादन भएको खुकुरी हाल स्थानीय बजारका अतिरिक्त खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा रहेसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाइमा समेत भोजपुरे खुकुरी उपहारस्वरूप प्रदान गर्ने गरिन्छ ।
भोजपुरमा आउने र जानेहरूलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने गरेको सङ्घ भोजपुरका कार्यालय सचिव मीना कार्की बताउनुहुन्छ । भोजपुरमा दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावा लगायतका ठाउँबाट समेत खुकुरी बिक्रीका लागि आउने गरेको छ । भोजपुरमा बुदुना, बाँसपाते, सिरुपाते लगायतका खुकुरीहरू बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।
भोजपुर नगरपालिका–५ का महेन्द्र विक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताउनुभयो । महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहनुभएका उहाँले भन्नुभयो, “बिचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालिगड भन्दा पनि आफैँले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।”
विसं २०४७ देखि नै खुकुरीको व्यवसाय गर्दै आइरहनुभएका उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठले आफूसँग बिक्रीका लागि रु सात सयदेखि आठ हजार पाँच सयसम्मको खुकुरी रहेको जानकारी दिनुभयो । जिल्लाकै ख्यातिसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरूका लागि अवसर भएको उहाँले बताउनुभयो । सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यवसायीकरणमा ढाल्न सहयोग गर्नुपर्ने सञ्चालक श्रेष्ठको भनाइ छ ।
भोजपुरमा सन् १९६५ देखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास पाइन्छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको बताइन्छ । विश्वकर्माको खुकुरी बनाउने कला देखेर राजा महेन्द्रले रु एक हजार बक्सिस स्वरूप दिएको र सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीहरूको भनाइ छ ।
सजावटका लागि समेत भोजपुरमा बन्ने खुकुरीहरू नेपालका साथै बाहिरी मुलुकहरू बेलायत, अमेरिका, फ्रान्स लगायतका मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि भोजपुरमा कालिगडको अभाव हुँदै जान थालेको हो । खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थहरू जुटाउन समस्या हुने, त्यहाँमाथि युवाहरूलाई धेरै पैसा कमाउन मन हुने कारणले पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्माले बताउनुभयो ।
खुकुरी व्यवसाय सञ्चालनका लागि सरकारी निकायहरूबाट पनि आवश्यक कच्चा पदार्थ, कोइला, काठमा सहजता ल्याइदिनु पर्ने माग खुकुरी व्यवसायीको रहेको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्