तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न/गराउन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था कार्यान्वयन गराउन विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि लागू हुने सो आचारसंहिता कार्यान्वयन गराउन ती व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिइएको जनाएको छ ।

File Photo

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो ।

सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिले पनि आयोगद्वारा जारी आचारसंहिता कार्यान्वयन गर्नुपर्ने छ ।

यस्तै अनुगमन समितिको पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, कर्मचारी र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोको पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयकाका शिक्षक तथा कर्मचारी, मतदाता र विकास साझेदार संस्थाले पनि आचारसंहिता पालना गर्नुपर्नेछ ।

सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ । आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्न आयोगले गत भदौ १३ गते नेपाल राजपत्रमा निर्वाचन आचारसंहिता, २०७९ प्रकाशन गरेको थियो । निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button