तपाईँ सुन्दै हुनुहुन्छः

नव निर्मित प्रहरी कार्यालय भवनको उद्घाटन

सुनसरी । ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । 

कार्यालयको हाता भित्र आज बिहान भएको एक विशेष कार्यक्रमका बीच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।  

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो । 

कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । 

साथै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोश र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।  

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैयाँ २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरू, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत स्थानीयवासीहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button