आचारसंहिता इमानदारीपूर्वक पालना गर्ने दलहरूको प्रतिबद्धता
काठमाडौँ । राजनीतिक दलका शीर्ष नेताहरूले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जारी हुने निर्वाचन आचार संहिताको इमानदारीका साथ पालना गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

आयोगमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झा लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरूबाट निर्वाचन आचारसंहिता पालना गर्ने गराउने विषयमा प्रतिबद्धता जाहेर भएको बताउनुभयो ।

आयोगले निर्णय गरेर छिट्टै निर्वाचन आचार संहिता जारी गरिने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
शीर्ष नेताहरूले निर्वाचन प्रचारप्रसारको समय अपुग हुने भएकाले प्रचार प्रसारको समय बढाउन आग्रह गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र)का नेता पोखरेलले निर्वाचन आयोगले जारी गर्न लागेको निर्वाचन आचारसंहिताका विषयमा केही सुझाव दिनुका साथै प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेश भइसकेको छ भने प्रत्यक्षतर्फ यही असोज २३ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभा सदस्य २७५ र प्रदेशसभा सदस्यतर्फ ५५० सिटका लागि निर्वाचन हुन लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्