तपाईँ सुन्दै हुनुहुन्छः

सन्सारी माताको मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाइँको तयारी तीव्र

विराटनगर । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि मोरङको सन्सारी माताको मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाइँको तयारी सुरु गरिएको छ ।

रङ्गेली नगरपालिका–७ मा रहेको उक्त मन्दिरमा प्रदेश न १ सरकारले विजया दशमीको फूलपातीका दिन प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेसँगै यस वर्ष पनि फूलपाती बढाइँका लागि मन्दिर व्यवस्थापन समितिले तयारी सुरु गरेको हो  । 

विगत तीन वर्षदेखि मन्दिरमा प्रदेश १ का मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा  मन्त्रीहरूको उपस्थितिहरूमा प्रदेशस्तरीय बढाइँ हुँदै आएको छ । 

फूलपाती बढाइँका लागि मन्दिर व्यवस्थापन समितिले तयारी तीव्र बनाएको समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले बताउनुभयो ।

फूलपाती बढाइँका लागि मन्दिर सजावट, सरसफाइ, स्वागत द्वारको निर्माण मञ्च, समेनाको व्यवस्थापन तथा विभिन्न समिति उप समिति गठन गर्ने  काम तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश नंं. १ कै मुख्य शक्ति पीठको रुपमा रहेको सो मन्दिर दर्शनका लागि  नेपाल मात्र हैन भारतबाट समेत भक्तजनको ठुलो सहभागिता रहने गरेको छ । 

फूलपातीमा करिब पाँच हजारभन्दा बढी भक्तजन सहभागी हुने गरेकाले त्यही अनुसार तयारी गरिएको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रदेश १ को राजधानी विराटनगरदेखि २२ किलोमिटर पूर्व  चिसांग खोलाको किनारमा रहेको मन्दिरमा घटस्थापनादेखि विजया दशमीको टिकासम्म भव्य पूजापाठ तथा भजन कीर्तनको समेत आयोजना हुने गरेको छ । 

१० दिनसम्म मन्दिरभित्र दुई दर्जन ब्राम्हणहरुले २४ घण्टा पूजापाठ गर्ने गरेका छन् । 

झण्डै एक सय वर्ष पुरानो सो मन्दिरलाई व्यवस्थापन समितिले व्यवस्थित बनाएपछि विगत १२  वर्षदेखि  मन्दिरमा प्रत्येक दिन बोका बली चढाउन र पूजा गर्न ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । 

भाकल गर्दा मनोकामना पुरा हुने मन्दिरमा शनिवारका दिन भक्तजनहरूले दुई सयभन्दा बढी बोका बलि चढाउने गरेको मन्दिर व्यवस्थापन समितिका सह–सचिव ईश्वर पोखरेलले बताउनुभयो । 

भाकल गर्दा कतिपय भक्तजनहरूले बोका चढाउने तथा कतिपयले मन्दिरमा आएर परेवा उडाउने गर्दछन् ।

मन्दिरमा दर्शन गर्दा सबै मनोकामना पुरा हुने भएकाले विगतका वर्षमा जस्तै यस वर्ष पनि फूलपाती बढाइँ कार्यक्रममा सहभागी हुन पोखरेलले सबैलाई आग्रह गर्नुभयो ।

फूलपातीका दिन बिहान ८ः०० बजे मन्दिर परिसरबाट नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली तथा विभिन्न जाती समुदायका नृत्य झाँकीसहित भक्तजनको सहभागितामा डोलीमा राखेर फूलपाती निकाल्ने चलन छ । 

मन्दिरप्रति भक्तजनका आस्था एवं विश्वास बढेसँगै प्रदेश सरकार र रङ्गेली नगरपालिकाले प्रत्येक वर्ष मन्दिर व्यवस्थापन तथा पूर्वाधारका लागि बजेट छुट्याउने गरेका छन् । 

प्रदेश सरकारले १० करोडको लागतमा मन्दिर परिसरमा अहिले पूर्वाधार निर्माणको काम भइरहेको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार फूलपाती बढाइँलाई मध्यनजर गर्दै आधा दर्जन स्वागत द्वार निमार्ण गर्ने काम भइरहेको छ । झिलिमिली बत्ती तथा ध्वजा पताखाले मन्दिर सिँगारिँदै छ । फूलपातीको तयारीका लागी स्वतःस्फूर्त  रुपमा स्थानीय जुटेका छन् । मन्दिरमा शारीरिक रुपमा सहयोग गर्दा माताले आशिवार्द दिने विश्वास रहेकाले पनि सबैको सहभागी हुने गरेको स्थानीयको विश्वास छ ।

त्यस्तै प्रदेशस्तरीय बढाइँ कार्यक्रममा राई, लिम्बु, मगर, सन्थाल उराव तथा झागड समुदायले गर्ने लोक नृत्यले सबैलाई आकर्षण बनाउने गरेको छ । 

मन्दिरबाट निकालिएको फूलपाती विभिन्न ठाउँमा विश्रामका लागि  व्यवस्था मिलाएको छ । मन्दिरप्रति भक्तजनको आकर्षण बढेपछि सीमावर्ती भारतबाट आएका एक जना महिला भक्तजनले केही वर्षअघि  १० दिनसम्म मन्दिर परिसरमा सुतेर शरीरमा जमरा राखेर जमरा उमारेको व्यवस्थापन समितिको भनाई छ ।

फूलपाती अर्थात् सप्तमीका दिन बिहानदेखि विराटनगर, इटहरी, धरान तथा झापा मोरङ, सुनसरीबाट भक्तजन फूलपाती बढाइँ  कार्यक्रममा सहभागी हुन मन्दिर पुग्ने गरेका छन् ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button