म्यादी प्रहरीका लागि झापामा ६९५८ जनाको आवेदन
झापा । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि झापामा करिब ७ हजारले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरीमा दरखास्त दिन तोकेअनुसार झापामा ६९५८ जनाले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

आगामी निर्वाचनका लागि झापामा करिब ३ हजार जनाको कोटा रहेकोमा दोब्बर बढीले आवेदन दिएको उहाँले बताउनुभयो ।
दरखास्त दिनेहरूमा नयाँतर्फ महिला १२४७ र पुरुष ३६२६ गरी ४७८३, विगतका निर्वाचनहरूमा भर्ना भएका म्यादी प्रहरी महिला ६२८ र पुरुष १३९४ गरी २०२२, पूर्व नेपाली सेना ३५, पूर्व नेपाल प्रहरी १८ र पूर्व सशस्त्र प्रहरी १० जनाले आवेदन दिएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा झापामा २९०० म्यादी प्रहरी भर्ना भएका थिए ।
प्राप्त आवेदनबमोजिम असोज ९ देखि १४ गतेसम्म छनोट, असोज २५ गते अन्तिम नामावली प्रकाशन र असोज ३० देखि कात्तिक ८ गतसम्म तालिम दिइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्