विकटका महिला बिच बाटोमै बच्चा जन्माउन बाध्य
अछाम । अछाममा एक गर्भवती महिलाले बिच बाटोमै शिशुको जनम दिएकी छन् । अछामको विकट मङ्गलसेन १३ मा २८ वर्षीया हिउँकला नेपालीले स्वास्थ्य चौकी जाँदै गर्दा बिच बाटोमै छोरीको जन्म दिएकी हुन् ।

बस्तीको डाँडीगडेबाट बस्ती स्वास्थ्य चौकी ल्याउने क्रममा सालघाडी भन्ने ठाउँमा शिशुको जन्म भएको उहाँका देवर धर्मराज परियारले बताउनुभयो । सुत्केरी व्यथा लागेको थाहा पाएपछि स्वास्थ्य चौकी लान खोजेको तर टाढा भएका कारण समयमै स्वास्थ्य चौकी पुर्याउन नसकिएको उहाँको भनाई छ ।
घरबाट स्वास्थ्य चौकी करिब डेढ घण्टाको पैदल दुरीमा रहेको छ । व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा स्वास्थ्य चौकीबाट आधा घण्टाको दूरीमै बच्चा भएको थियो । हिउँसराले पाँचौँ सन्तानका रूपमा छोरीको जन्म दिएकी हुन् । यसअघि उहाँका ४ छोरी छन् ।

बच्चा भएपछि सुत्केरी महिला र बच्चालाई स्वास्थ्य चौकी लगेर चेकजाँच गरिएको छ । हाल आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बस्ती स्वास्थ्य चौकीका इन्चार्ज हिरालाल जैसीले बताउनुभयो । बाटोमै बच्चा भए पनि स्वास्थ्य संस्था ल्याउन सुझाव दिएको र आवश्यक उपचार तथा परामर्श दिएको इन्चार्ज जैसीको भनाई छ ।

सुत्केरीका लागि प्रसूति केन्द्र तथा जिल्ला अस्पताल सम्म पुर्याउन मङ्गलसेन नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । तर बस्तीमा सहज रूपमा सडकको सञ्जाल जोडिएको छैन । वडाको केन्द्रसम्म सडक पुगे पनि वर्षाका कारण सडक बिग्रिएको स्थानीयले बताएका छन् ।
भौगोलिक विकटता तथा परिवारका सदस्यहरूले गर्ने पूर्व तयारी लगायतको अभावका कारण आमा र बच्चाका स्वास्थ्य जोखिममा रहने गरेको जिल्ला अस्पताल अछामका नर्सिङ स्टाफ गङ्गा बुढामगरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्