निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न संघ र प्रदेशको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने गरेको बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपाली सञ्चार जगतले पत्रकारिताको आचारसंहिताको पूर्ण पालना गर्दै अद्यावधिक निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आफ्नो अपेक्षा रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा पत्रकारिताको क्षेत्रको पेशागत आचरण कायम राखी कार्यसम्पादन गर्दै आएको प्रेस काउन्सिल नेपालको नियमन र अनुगमन गर्ने तथा उत्कृष्ट कार्य गर्ने सञ्चार संस्था र सञ्चारकर्मीलाई वर्षेनी पुरस्कृत गर्ने परिपाटीले यस क्षेत्रको समय सुहाउँदो विकासमा मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सञ्चार क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै भ्रमपूर्ण सूचना तथा समाचारहरू पनि सम्प्रेषण हुने गरेको पाइएकाले त्यस तर्फ प्रेस काउन्सिल नेपाल र राज्यका संयन्त्रहरू चनाखो रहनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको वर्तमान सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न कटिबद्ध रहेको बताउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री कार्कीले अबको निर्वाचन पछि समृद्ध नेपालको निर्माण नै सरकारको एकमात्र मूल लक्ष्य रहने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि काउन्सिलले अनुगमन गर्दै आएको उल्लेख गर्दै समृद्ध नेपालको सबैको चाहना पुरा गर्न सबै मिलेर सकारात्मक ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने केही पत्रकारलाई नगद र सम्मान पत्र सहित पुरस्कार प्रदान गर्नुभयो ।

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार हरिबहादुर थापा सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि १ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार माधव भण्डारी विद्रोही सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ ।
यस्तै सो अवसरमा युवा, महिला, क्रियाशील पत्रकारिता पुरस्कारबाट देशका विभिन्न क्षेत्रबाट पत्रकारहरू पुरस्कृत हुनुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्