तपाईँ सुन्दै हुनुहुन्छः

युरोपेली प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदै

काठमाडौँ । युरोपेली संसद्को प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) काठमाडौँ आउँदै छ ।

प्रतिनिधिमण्डलको नेतृत्व युरोपेली संसद्का उपाध्यक्ष एभलिन रेङ्गनर गर्नु भएको छ ।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछ ।

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जारी गरेको प्रेस विज्ञप्तिमा यस भ्रमणले नेपाल र युरोपेली संघ बीचको सम्बन्धलाई थप सुमधुर बनाउनका साथै आगामी दिनमा सहकार्यलाई थप उचाइमा पु¥याउने बाटो खोज्नमा योगदान पु¥याउने छ ।

भ्रमणमा रहेका प्रतिनिधिमण्डललाई नयाँ संविधान जारी भएदेखि कार्यान्वयनमा आएको संघीय लोकतन्त्र कार्यान्वयनबारे नेपालको अनुभवबारे अवगत गराइने विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा उहाँहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली र नेपाली काँग्रेसका नेता गगनकुमार थापासँग भेटवार्ता गर्नु हुनेछ ।

यसैगरी प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा नारायण खड्का, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग पनि छुट्टाछुट्टै भेट गर्नुहुनेछ ।

बसाइका क्रममा सांसदहरुले महिला राजनीतिज्ञ, नागरिक समाजका अगुवा र पत्रकारहरूसँग लोकतन्त्र, जलवायु परिवर्तन र सामाजिक समावेशीकरणका विषयमा पनि छलफल गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button