जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी

धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताउनुभएको छ ।
जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भन्नुभयो, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खागसरि हिन्दु धर्ममा विश्वास गर्नेहरूको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’
जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । ‘तपाईँहरू फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउने छौँ । बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छर्नै । काम निर्धारित समयभित्रै सक्नुस् । काम गर्दा गुणस्तरीयतामा कमी नहोस् । तपाईँहरूले पनि निरन्तर आयोजनाहरूको निगरानी गर्नुस् ।’मन्त्री चौधरीको भनाई थियो ।
यस आयोजना अन्तर्गत जलेश्वर–२, मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नति, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नति, जनकपुरधाम स्थित रामजानकी कुट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नति, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नति लगायतका योजनाहरू रहेका छन् । आयोजनाको कुल अनुमानित लागत १० करोड रहेको छ ।
त्यसैगरी सहरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रम अन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नति कार्यको पनि शिलान्यास गर्नुभएको छ । जस अन्तर्गत २.२ कि. मि. लम्बाइमा १६ मि. चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ । दुवैतर्फ बिरुवा रोपेर हरियाली कायम गरिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्