डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । आज ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उहाँले कोभिड–१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको बताउनुभयो । स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
कोभिड–१९ महामारीजस्तै डेङ्गु नियन्त्रण गर्नका लागि चिकित्सक सङ्घको सहयोग आवश्यक रहेको उहाँको भनाइ रहेको थियो । “सबैको सहयोगबाट कोभिड–१९ जस्तै डेङ्गुको सङ्क्रमण पनि सामान्य अवस्थामा ल्याउन विश्वास लिएको छु”, उहाँले भन्नुभयो । उहाँले कोरोना भाइरस र डेङ्गुको उपचारका लागि सरकारले सबै व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले सम्मेलनमा गरिने छलफल, परामर्श र सुझावलाई सरकारले ग्रहण गर्दै स्वास्थ्यका नीति तथा रणनीति तयार पार्न सहयोग मिल्नेसमेत बताउनुभयो ।
उहाँले स्वास्थ्य बहुआयामिक विषय रहेकाले कुनै पनि विषयका समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै कोरोना भाइरस होस् वा डेङ्गु होस् सबैको सामूहिक प्रयासले नियन्त्रण गर्न सकिन्छ भन्नेमा दुई मत नभएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रको बारेमा छलफल भई स्वास्थ्यको नीति नियम बनाउन सरकारलाई सहज हुने बताउनुभयो । उहाँले कोरोना भाइरस महामारी नियन्त्रणको प्रयासमा सरकार रहेको उल्लेख गर्दै डेङ्गुको सङ्क्रमण नियन्त्रण गर्न सरकार लागिपरेको बताउनुभयो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्राप्त भएका सुझावले सरकारलाई स्वास्थ्य क्षेत्रका नीति तथा रणनीति बनाउन सहयोग मिल्ने बताउनुभयो ।
सङ्घका अध्यक्ष डा लोचन कार्कीले दुई दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने र ती कार्यपत्रबाट निस्केका निष्कर्षले सरकारलाई सुझाव दिने बताउनुभयो । सम्मेलनमा देशभरिबाट पाँच सयभन्दा बढी चिकित्सकको सहभागिता छ । रासस







प्रतिक्रिया राख्नुहोस्