सिर्सिया सुक्खा बन्दरगाहमा २५ सय मेट्रिक टन डिएपी मल आइपुग्यो
वीरगञ्ज । कृषि सामग्री कम्पनीले आयात गरेको २० हजार मेट्रिक टन डिएपी मलमध्ये २५ सय मेट्रिक टन मल वीरगञ्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ ।
गहुँ बाली सिजनका लागि कृषि सामग्री कम्पनीको दोस्रो कन्साइन्मेन्ट मार्फत डीएपी मल वीरगञ्ज भित्रिएको कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकारी आलोक कुमारले बताउनुभयो ।

ग्लोबल टेन्डरबाट ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले जोर्डनबाट उक्त मल खरिद गरी ल्याएको हो । स्विस सिंगापुरले ग्लोबल टेन्डरबाट ४० हजार मेट्रिक टन डीएपी मल आपूर्तिको २ वटा ठेक्का पाएकामा पहिलो कन्साइन्मेन्टमा २० हजार मेट्रिक टन ल्याइसकेको छ । त्यसमध्ये १५ हजार मेट्रिक टन वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमै आएको थियो । ५ हजार मेट्रिक टन कोलकाताबाट विराटनगर ल्याइएको थियो ।
त्यतिबेला पनि वीरगन्ज आएको १५ हजार मेट्रिक टनमध्ये ८ हजार मेट्रिक टन वीरगन्ज, ७ हजार मेट्रिक टन भैरहवा प्रादेशिक कार्यालयले पाएका थिए । कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले मधेस, वाग्मती र गण्डकी प्रदेशका १६ जिल्लामा मल वितरण गर्दै आएको छ ।
हाल किसानबाट डीएपी मलको माग नआएकाले अहिले भण्डारण गरी गहुँको सिजनका लागि डिएपी मल राखिने कृषि सामग्री कम्पनीका सूचना अधिकारी आलोक कुमारले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्