तपाईँ सुन्दै हुनुहुन्छः

बजार अनुगमन प्रभावकारी बनाउन समितिको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले चाडवाड नजिकिँदै गइरहेका बेला बजार अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकबाट दसैँ तिहार, छठजस्ता पर्व नजिकिँदै गइरहेका बेला दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भएको र कृत्रिम अभाव सिर्जना गरेको पाइएकाले प्रभावकारी रुपमा बजार अनुगमन गरी कारबाही गर्न निर्देशन दिइएको हो ।

बैठकमा सांसदहरु बामदेव गौतम, कमला पन्त, नन्दा चपाई, विमला घिमिरे लगायतले चाडबाडका बेला सडक दुर्घटना बढी हुने गरेको पाइएकाले सडक सुरक्षालाई ध्यान दिइनुपर्ने, सवारी साधनमा सिट सङ्ख्या अनुसार मात्रै यात्रु चढाउनुपर्ने र निर्धारण गरेअनुसार भाडा दर कायम हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी सुपथ मूल्य पसलहरू बढाउनुपर्ने र चाडबाडका बेला थप शान्ति-सुरक्षा कायम हुनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।

बैठकमा गृहसचिव विनोद प्रकाश सिंहले सरकारले आउँदै गरेको चाडबाडलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन लागेको जानकारी दिनुभयो ।

बैठकमा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले सर्वसाधारणले चाडबाडका बेला दैनिक उपभोग्य बस्तु सहज रुपमा खरिद गर्न सक्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button