तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा पनि धुमधामका साथ मनाइयो संविधान दिवस 

बाजुरा । असोज ३ गते अर्थात् संविधान जारी भएको दिनका अवसरमा बाजुरामा विविध कार्यक्रम गरी आठ औँ संविधान दिवस तथा राष्ट्रिय मनाइएको छ  ।

दिवसका अवसरमा सोमबार संविधान दिवस मूल समारोह समिति बाजुराले बाजुरा सदरमुकाममा बाजागाजा सहित प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो । खुला मञ्चबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा बजार परिक्रमा पछि खुलामञ्चमा पुगेर  विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो । 

संविधान दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तरगत आइतबार बिहान जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिर परिसर वरिपरि राष्ट्रसेवक कर्मचारीले सरसफाइ गरेका थिए ।

संविधान दिवसको अवसर पारेर आइतबार बिहान प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको संयोजकत्वमा सरसफाइ गरिएको थियो । आइतबार दिउसो संविधान दिवसकै अवसरमा मैत्रीपूर्ण भलिबलको समेत आयोजना गरिएको थियो । राजनीतिक दल र कर्मचारी बिच भएको मैत्रीपूर्ण खेलमा महिला र पुरुष दुवैको सहभागिता रहेको थियो । सो अवसरमा महिला र पुरुष भलिबलमा राजनीतिक दलले जित हात पारेका छन्  ।

प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गर्नुभएको थियो । कार्यक्रममा बडिमालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख धर्मराज उपाध्याय, जिल्ला समन्वय उप प्रमुख लाछु सार्की, नेकपा एमालेका पार्टी सचिव भरत थापा, नेपाली काँग्रेसका गोपाल कार्की, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button